काठमाडौं, असार १७। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि स्वचालित प्रणालीअनुसार समायोजन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारसँग आग्रह गरेको छ।

नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्य घटाएको छ। त्यसपछि महासङ्घले विद्यमान स्वचालित भाडा समायोजन प्रणाली कार्यान्वयन गरी यात्रु र व्यवसायी दुवैलाई स्पष्टता हुने गरी नयाँ भाडादर तोक्न माग गरेको हो।

महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले इन्धनको मूल्य बढ्दा मात्र होइन, घट्दा पनि सोही प्रणालीअनुसार समयमै भाडा समायोजन हुनुपर्ने बताए। उनका अनुसार यस्तो व्यवस्था लागू हुँदा भाडा निर्धारण प्रक्रिया पारदर्शी, वैज्ञानिक र विश्वसनीय बन्नेछ।

उनले सार्वजनिक सवारीको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र नभई सवारी सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, स्पेयर पार्ट्सको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक अवस्थालाई समेत आधार बनाउनुपर्ने धारणा व्यक्त गरे।

महासङ्घले स्वचालित प्रणालीको प्रभावकारी कार्यान्वयनबाट यात्रु र व्यवसायी दुवैको हित संरक्षण हुने विश्वास व्यक्त गरेको छ।