मधेश प्रदेशमा लागुऔषध कारोबार र दुव्र्यसन भयावह बन्दै गएको पछिल्ला घटनाले स्पष्ट पारेका छन्। सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साजस्ता खुला सीमावर्ती जिल्लाहरू लागुऔषध ओसारपसारका प्रमुख मार्गका रूपमा स्थापित हुँदै गएका छन्। प्रहरीको सक्रियताका कारण ठूलो परिमाणमा लागुऔषध बरामद हुनु र संलग्न व्यक्तिहरू पक्राउ पर्नु सकारात्मक पक्ष हो। तर यसले समस्या नियन्त्रणमा आएको होइन, बरु यसको गहिराइ झन् उजागर भएको देखाउँछ।

पछिल्ला केही दिनमै गोली प्रहार गरेर लागुऔषध कारोबारी पक्राउ गर्नुपर्ने अवस्था सिर्जना हुनु सुरक्षा चुनौतीको गम्भीर संकेत हो। खुला सीमा, अन्तरदेशीय तस्करी सञ्जाल, बेरोजगारी, कमजोर सामाजिक निगरानी र युवामाझ बढ्दो दुव्र्यसनले समस्या अझ जटिल बनाइरहेको छ।

लागुऔषधविरुद्धको अभियान प्रहरीले मात्र सफल बनाउन सक्दैन। स्थानीय सरकार, विद्यालय, अभिभावक, नागरिक समाज, स्वास्थ्य संस्था र समुदाय सबैको साझा जिम्मेवारी आवश्यक छ। विद्यालयस्तरबाटै सचेतना, दुव्र्यसनीका लागि उपचार तथा पुनर्स्थापना सेवा, सीमा निगरानीमा आधुनिक प्रविधिको प्रयोग र अन्तरदेशीय समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ।

पक्राउको संख्या बढ्नु सफलताको सूचक मात्र होइन। वास्तविक सफलता तब हुनेछ, जब युवाहरू लागुऔषधको जालोमा फस्न छाड्नेछन्, तस्करीका सञ्जाल कमजोर हुनेछन् र समाज सुरक्षित बन्दै जानेछ। त्यसैले अबको प्राथमिकता कारबाहीसँगै दीर्घकालीन रोकथाम, पुनर्स्थापना र जनचेतना हुनुपर्छ। यही मार्गले मात्र मधेशलाई लागुऔषधको दलदलबाट बाहिर निकाल्न सकिन्छ।