कञ्चनपुर, २१ भदौ । नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र पार्टीको वैधानिक संरचनालाई लिएर बढ्दै गएको विवादले पार्टी विभाजनको जोखिम बढेको नेता रमेश लेखकले बताएका छन्।

कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा पार्टी कार्यकर्तासँगको भेटघाटका क्रममा लेखकले महाधिवेशनको प्रक्रिया तत्काल रोक्दै विवाद समाधानको बाटो खोज्नुपर्ने धारणा राखे। उनले समयमै विवाद समाधान नभए पार्टी विभाजन हुनसक्ने चेतावनी दिएका हुन्।

लेखकका अनुसार अहिलेको विवाद विशेष महाधिवेशनबाट १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई विस्थापित गरिएपछि थप जटिल बनेको हो। उनले विशेष महाधिवेशनबाट बनेको संरचना र १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिबीच समन्वय गरेर समाधान खोज्नुपर्ने बताए।

उनले पार्टी सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै विशेष महाधिवेशनमा समेटिन नसकेका १४औँ महाधिवेशनका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समावेश गर्नुपर्ने प्रस्ताव अघि सारेको जानकारी दिए।

त्यसरी सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने अवस्था आए आफ्नो पक्षबाट समेत आवश्यक सदस्य थपेर बहुमत कायम गर्न सकिने विकल्प आफूहरूले प्रस्तुत गरेको लेखकको भनाइ छ।

त्यस्तै, निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापतिले आफ्नो बहुमत कायम राख्न सक्ने भए पनि अन्य पक्षबाट समेत एक–एक जना प्रतिनिधि राख्नुपर्ने प्रस्ताव गरिएको उनले बताए।

‘हामीले गगनजीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन,’ लेखकले भने।

पार्टीभित्रको विवाद समाधानका लागि अझै ढोका खुला रहेको उल्लेख गर्दै उनले दुवै पक्षले महाधिवेशनको प्रक्रिया रोक्नुपर्नेमा जोड दिए। ‘अहिले पनि उपाय छ। आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ। यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ,’ उनले चेतावनी दिए।

लेखकले पार्टीको आधिकारिकतासम्बन्धी मुख्य विवाद अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला पर्खेर अघि बढ्नुपर्ने धारणा पनि राखे। कुनै एउटा फैसला आफ्नो पक्षमा आएको आधारमा सम्पूर्ण विवाद समाधान भएको निष्कर्ष निकाल्न नहुने उनको भनाइ छ।

उनले पार्टी विभाजनको अवस्था आए त्यसको जिम्मेवारी महाधिवेशन प्रक्रिया अघि बढाउने पक्षले लिनुपर्ने चेतावनीसमेत दिए।

सभापति गगन थापा नेतृत्वले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने मिति तय गरेको छ। तर संस्थापन इतर समूहले उक्त मिति स्वीकार नगरी मंसिरमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव राख्दै आएको छ।

यससँगै कांग्रेसभित्र महाधिवेशनको मिति, पार्टीको वैधानिकता र केन्द्रीय कार्यसमितिको संरचनालाई लिएर देखिएको विवाद तत्काल समाधान हुने वा थप गहिरिँदै जाने भन्ने विषयले पार्टीको आगामी राजनीतिक दिशा प्रभावित गर्ने देखिएको छ।