आज जनै पूर्णिमा तथा रक्षाबन्धन : जनै फेरिने मात्र होइन, संस्कार र कर्तव्य नवीकरण गर्ने दिन
२०८३ भाद्र १२, शुक्रबार १०:१६
ऋषितर्पणी, श्रावणी स्नानदेखि रक्षासूत्र धारणसम्मको वैदिक परम्परा; ज्ञान, धर्म, संस्कार र पारिवारिक सम्बन्धको स्मरण गराउने पर्व
काठमाडौँ, भदौ १२ । सनातन हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व जनै पूर्णिमा, ऋषितर्पणी तथा रक्षाबन्धन आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व धार्मिक संस्कारसँगै ज्ञान, ऋषि परम्परा, आत्मशुद्धि, पारिवारिक प्रेम र सामाजिक एकताको प्रतीकका रूपमा स्थापित छ।
वैदिक परम्पराअनुसार आज पुर्णिामा उदयव्यापिनी शुक्य यदुर्वेदीय माध्यन्दिनवाजसेयिनां शाखाका पक्षधरले
बिहान गणस्नान गरी शुद्ध भएर द्वजहरूले समुदायले विधिपूर्वक नयाँ यज्ञोपवीत अर्थात् जनै धारण गर्ने गर्छन्। यसअघि श्रावणी स्नान, ऋषितर्पण, देवपूजा तथा यज्ञोपवीत अभिमन्त्रणलगायतका धार्मिक विधि सम्पन्न गरिन्छ।
जनैलाई केवल धागो नभई ज्ञान, अनुशासन, कर्तव्य र धार्मिक संस्कारको प्रतीकका रूपमा लिइन्छ।
जनै पूर्णिमाको अर्को महत्वपूर्ण पक्ष ऋषितर्पणी हो। यस दिन कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र, वशिष्ठलगायत ऋषिहरूको स्मरण तथा तर्पण गर्ने परम्परा छ। ऋषिहरूलाई ज्ञान, तपस्या र वैदिक संस्कारका संवाहक मान्दै उनीहरूप्रति श्रद्धा तथा कृतज्ञता व्यक्त गरिन्छ।
शास्त्रीय परम्परामा ऋषितर्पणलाई आफ्नो ज्ञान–परम्परा, कुल–संस्कार र गुरु–ऋषिहरूप्रतिको सम्मानसँग जोडेर हेर्ने गरिन्छ। त्यसैले जनै परिवर्तनलाई बाह्य रूपमा धागो फेर्ने कार्यभन्दा माथि उठेर आफ्नो आचरण, कर्तव्य र आध्यात्मिक अनुशासनलाई नवीकरण गर्ने संकल्पका रूपमा बुझिन्छ।
जनै पूर्णिमाकै दिन गुरु–पुरोहितबाट मन्त्रद्वारा अभिमन्त्रित रक्षासूत्र अर्थात् डोरो बाँध्ने परम्परा छ। धार्मिक विश्वासअनुसार जप, तप तथा पूजा गरी संस्कारित रक्षासूत्र धारण गर्दा शुभ, मंगल र सुरक्षाको कामना गरिन्छ।
रक्षासूत्र बाँध्दा प्रचलित वैदिक मन्त्र हो
“येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः।
तेन त्वामनुबध्नामि रक्षे मा चल मा चल॥”
अर्थात्, जुन रक्षासूत्रले अत्यन्त शक्तिशाली दानवराज बलिलाई बाँधिएको थियो, त्यही रक्षासूत्रले म तिमीलाई बाँध्दछु। हे रक्षे ! तिमी अचल रहनू, रक्षा गरिरहनू।
यस मन्त्रमा रक्षासूत्रलाई केवल धागोका रूपमा नभई धर्म, विश्वास र संरक्षणको संकल्पका रूपमा ग्रहण गरिएको पाइन्छ।
नेपालको तराई–मधेसलगायत विभिन्न क्षेत्रमा यही दिन राखी तथा रक्षाबन्धनको विशेष महत्व छ। दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँध्दै दीर्घायु, सुख, समृद्धि र सुरक्षाको कामना गर्छन्। यसले पारिवारिक आत्मीयता, प्रेम र पारस्परिक संरक्षणको भावलाई बलियो बनाउने सामाजिक मान्यता छ।
यसरी एउटै पूर्णिमाले एकातर्फ ऋषि र गुरु परम्पराप्रति श्रद्धा, अर्कोतर्फ धर्म र कर्तव्यप्रतिको संकल्प तथा पारिवारिक तहमा प्रेम, विश्वास र संरक्षणको सम्बन्धलाई जोडेको छ।
क्वाँटी : पर्वसँग जोडिएको मौलिक नेपाली परम्परा
जनै पूर्णिमाका दिन विभिन्न प्रकारका गेडागुडी मिसाएर तयार गरिएको क्वाँटी खाने नेपाली मौलिक परम्परा पनि छ। धार्मिक संस्कारसँगै वर्षायाममा पौष्टिक आहारका रूपमा क्वाँटी खाने चलनले यस पर्वलाई नेपाली जीवनशैली र खानपान संस्कृतिसँग समेत जोडेको छ।
आधुनिक जीवनशैली तीव्र रूपमा परिवर्तन भइरहे पनि जनै पूर्णिमा र रक्षाबन्धनले पुस्तौँदेखि चलिआएको सनातन संस्कार, वैदिक परम्परा र पारिवारिक सम्बन्धलाई नयाँ पुस्तासम्म पुर्याउने अवसर प्रदान गर्छ।
जनै फेर्नु केवल पुरानो धागो हटाएर नयाँ धागो लगाउनु होइन, आफ्नो आचरण र कर्तव्यप्रति पुनः प्रतिबद्ध हुनु हो। ऋषितर्पण केवल जल अर्पण गर्नु होइन, ज्ञान र संस्कार दिने ऋषि–गुरुप्रति कृतज्ञता व्यक्त गर्नु हो।
रक्षासूत्र बाँध्नु केवल डोरो बाँध्नु होइन, एकअर्काको सुख, शान्ति र सुरक्षाका लागि मंगलकामना गर्नु हो।
त्यसैले जनै पूर्णिमा तथा रक्षाबन्धन सनातन संस्कृतिको निरन्तरता, ज्ञान परम्पराको सम्मान र मानवीय सम्बन्धको संरक्षण गर्ने विशिष्ट पर्वका रूपमा मनाइँदै आएको छ।




