दशौं राष्ट्रिय खेलकुदको मिति तय, मंसिर १६ देखि कर्णालीमा प्रतिस्पर्धा
२०८३ भाद्र २६, शुक्रबार २१:५०
काठमाडौं । लामो समयदेखि अन्योलमा रहेको राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौं संस्करण आयोजना हुने निश्चित भएको छ। आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बैठकको सिफारिसका आधारमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको जनाएको छ।
प्रतियोगिता सुर्खेतलाई मुख्य केन्द्र बनाएर कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गर्ने तयारी गरिएको छ। प्रतियोगिताका लागि प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित खेलकुद निकायले आवश्यक तयारी अघि बढाउने मन्त्रालयले जनाएको छ।
राष्ट्रिय खेलकुदको नवौं संस्करण २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको थियो। त्यसयता दशौं संस्करणको आयोजना पटक–पटक अन्योलमा पर्दै आएको थियो।
मन्त्रालयले दशौं राष्ट्रिय खेलकुदलाई व्यवस्थित र सफल बनाउन सम्बन्धित सबै पक्षलाई समयमै पूर्वाधार, व्यवस्थापन, खेलाडी तयारी तथा अन्य आवश्यक काम अघि बढाउन आग्रह गरेको छ।
राष्ट्रिय खेलकुद प्रतियोगिता देशभरका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिइन्छ। मन्त्रालयले खेलकुदमार्फत स्वस्थ, सक्षम, अनुशासित र सिर्जनशील नागरिक निर्माण गर्ने उद्देश्य प्रतियोगिताको रहेको जनाएको छ।
अब भने कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदले खेलाडीको प्रतिस्पर्धासँगै कर्णालीको खेल पूर्वाधार, पर्यटन र स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ।




