काठमाडौं, २ मङ्सिर। आगामी हिउँदयाममा नेपालको विद्युत् माग र आपूर्तिबीचको अन्तर व्यवस्थापन गर्न भारतबाट थप ३५० मेगावाट विद्युत् आयात गर्ने बाटो खुलेको छ। भारतले नेपाललाई विद्युत् आयातसँगै स्वदेशी जलविद्युत् उत्पादनको केही हिस्सा भारतीय बजारमा बिक्री गर्ने अनुमति पनि दिएको छ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा विनिमय बजारको डे–अहेड र रियल टाइम मार्केटमार्फत दैनिक १७ घण्टासम्म विद्युत् खरिद गर्न स्वीकृति दिएको हो। यो अनुमति २०८३ मङ्सिर १ देखि २०८४ साउन १५ सम्म लागू हुनेछ।

अनुमतिअनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ। बिहान ५ देखि ८ बजे र साँझ ५ देखि ९ बजेसम्म भने उक्त बजारबाट आयात गर्न पाइने छैन।

नेपालका लागि यो अनुमति हिउँदयामको विद्युत् व्यवस्थापनमा महत्त्वपूर्ण मानिएको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय प्रणालीबाट विच्छेद भएका छन्।

प्राधिकरणको प्रक्षेपणअनुसार पुसदेखि चैतसम्म आन्तरिक उत्पादनभन्दा विद्युत् माग बढी हुनेछ। विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था देखिएको छ। उच्च मागका समयमा भने आयातको आवश्यकता ८०० देखि ९०० मेगावाटसम्म पुग्न सक्ने अनुमान छ।

पुस र चैतमा तुलनात्मक रूपमा कम आयात गरे पुग्ने तथा वैशाखदेखि नदीमा पानीको बहाव बढेसँगै आन्तरिक उत्पादन वृद्धि हुने प्राधिकरणको आकलन छ। त्यसपछि आयात घटाउँदै निर्यातलाई निरन्तरता दिन सकिने अपेक्षा गरिएको छ।

यसैबीच भारतले नेपालका तीन जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति दिएको छ। आयात र निर्यात दुवैका लागि एउटै समयावधि तोकिएको छ।

नेपालले एकातिर हिउँदको माग धान्न भारतीय विद्युत्मा निर्भर रहनुपर्ने अवस्था सामना गरिरहेको छ भने अर्कोतर्फ वर्षायाममा उत्पादित अतिरिक्त विद्युत् निर्यात गरेर आम्दानी गर्ने सम्भावना बढाउँदै लगेको छ। दीर्घकालीन रूपमा प्रसारण पूर्वाधार विस्तार, जलाशययुक्त आयोजना निर्माण र आन्तरिक उत्पादन वृद्धि गर्न सके नेपाल विद्युत् आयातकर्ता मात्र नभई क्षेत्रीय ऊर्जा व्यापारको भरपर्दो साझेदार बन्न सक्नेछ।