‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ बन्यो अस्करमा नेपालको प्रतिनिधि फिल्म
२०८३ भाद्र २८, आईतवार २१:५६
काठमाडौं, भदौ २८। नेपालबाट सन् २०२७ मा हुने ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धा गर्न निर्देशक अविनाश विक्रम शाहको फिल्म ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ छनोट भएको छ।
अस्करको नेपाली छनोट समितिले प्रतिस्पर्धामा रहेका दुई फिल्ममध्ये ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’लाई नेपालको आधिकारिक प्रतिनिधि फिल्मका रूपमा चयन गरेको हो। यसपटक समितिसमक्ष ‘गौंथली’ र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ले आवेदन दिएका थिए।
समितिका अनुसार दुवै फिल्मको मूल्यांकन गर्दा प्राविधिक पक्ष, कथाको प्रस्तुति, पात्रहरूको भावनात्मक प्रभाव तथा कलात्मक शिल्पलाई मुख्य आधार बनाइएको थियो।
अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति नेपालका अध्यक्ष लक्ष्मीनाथ शर्माले जारी गरेको प्रेस विज्ञप्तिमार्फत फिल्म छनोट भएको जानकारी सार्वजनिक गरिएको हो।
अविनाश विक्रम शाह निर्देशित फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, आशान्त शर्मा, गौरी मल्ल र माओत्से गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।
फिल्मले यसअघि नै अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उल्लेखनीय उपस्थिति जनाइसकेको छ। यो कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुनुका साथै सोही विधामा जुरी पुरस्कारसमेत जितेको थियो।
कान्समा पुरस्कार जित्ने पहिलो नेपाली फिल्मको ऐतिहासिक उपलब्धि हासिल गरेको ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ अहिले नेपालका हलमा प्रदर्शन भइरहेको छ। फिल्म दोस्रो सातामा प्रवेश गरिसकेको छ।
अब फिल्मले अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व गर्दै प्रारम्भिक छनोटको प्रक्रियामा प्रतिस्पर्धा गर्नेछ।




