अयोध्या । बलिउडका महानायक अमिताभ बच्चनले आफ्ना दिवंगत पिता तथा चर्चित कवि डा. हरिवंशराय बच्चनको स्मृतिमा अयोध्यामा भव्य धर्मशाला निर्माण गर्ने तयारी गरेका छन्।

अयोध्याको दशरथ पथस्थित ‘द सरयु’ परियोजनाअन्तर्गत खरिद गरिएको जग्गामा धर्मशाला निर्माणको योजना अघि बढाइएको हो। उक्त जग्गाका लागि करिब १५ करोड भारतीय रुपैयाँ खर्च गरिएको बताइएको छ।

प्रस्तावित धर्मशालामा २० भन्दा बढी आधुनिक सुविधायुक्त कोठा रहनेछन्। अयोध्या दर्शन तथा धार्मिक यात्राका लागि पुग्ने श्रद्धालुलाई सहज र व्यवस्थित आवास उपलब्ध गराउने उद्देश्यले परियोजना अघि बढाइएको जनाइएको छ।

पछिल्लो समय अयोध्या धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकसित भइरहेका बेला बच्चन परिवारसँग जोडिएको यो परियोजनालाई पनि विशेष चासोका साथ हेरिएको छ।

धर्मशाला निर्माण सम्पन्न भएपछि यहाँ आउने तीर्थयात्रीले सुविधाजनक रूपमा बसोबास गर्न सक्नेछन्। दिवंगत कवि हरिवंशराय बच्चनको स्मृतिलाई अयोध्यासँग जोड्ने यो पहललाई परिवारको तर्फबाट गरिएको स्मरणीय प्रयासका रूपमा प्रस्तुत गरिएको छ।