मुम्बई विराटपाटी । बलिउड अभिनेत्री प्रीति जिंटा यतिबेला आफ्नो आगामी फिल्म ‘वाइब’ का कारण चर्चामा छिन्। फिल्म प्रदर्शनको तयारी भइरहेका बेला उनले सामाजिक सञ्जाल एक्समा प्रशंसकसँग प्रश्न–उत्तर कार्यक्रम गरेकी छन्।

उक्त क्रममा प्रशंसकहरूले उनलाई फिल्मसँगै व्यक्तिगत रुचि र भविष्यका योजनाबारे पनि प्रश्न गरेका थिए। एक प्रयोगकर्ताले प्रीति जिंटालाई आगामी दिनमा राजनीतिमा प्रवेश गर्ने सोच छ कि छैन भनेर प्रश्न गरेका थिए।

जवाफमा उनले आफूलाई राजनीतिमा आउने कुनै योजना नरहेको स्पष्ट पारेकी छन्। उनले हालका लागि राजनीतिमा प्रवेश गर्ने आफ्नो कुनै इरादा नभएको बताएकी हुन्।

प्रशंसकसँगको प्रश्न–उत्तर कार्यक्रममा उनले फिल्मी करियर, व्यक्तिगत रुचि तथा आगामी योजनाबारे विभिन्न जिज्ञासाको जवाफ दिएकी थिइन्। पछिल्लो समय कलाकारहरू राजनीतिमा सक्रिय हुने क्रम बढिरहेका बेला प्रीतिको यो जवाफलाई उनका प्रशंसकहरूले चासोका साथ लिएका छन्।

‘वाइब’ उनको आगामी महत्वपूर्ण फिल्मका रूपमा चर्चामा रहेको छ। फिल्मको प्रदर्शनअघि गरिएको यो अन्तरक्रियाले पनि उनको नयाँ फिल्मप्रतिको चासो थप बढाएको छ।