परराष्ट्रमन्त्री साउदसँग जापानी राजदूतले गरे शिष्टाचार भेट
२०८० बैशाख १३, बुधबार २०:४७
परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन् ।
सो अवसरमा राजदूत किकुताले परराष्ट्रमन्त्री साउदलाई जापानका परराष्ट्रमन्त्री हायासी योशिमासाबाट आएको बधाई पत्रको प्रतिलिपि हस्तान्तरण गर्दै परराष्ट्रमन्त्रीको रुपमा सफलताको शुभकामना व्यक्त गरेको जापानी दूतावासले जनाएको छ । ।
मन्त्री साउदलाई राजदूतले बधाई दिएका थिए ।
राजदूत किकुटा र मन्त्री साउदले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन विचार आदानप्रदान गरेका थिए ।
राजदूत किकुटाले नेपाल र जापानबीचको सुमधुर द्विपक्षीय सम्बन्धको लामो इतिहास रहेको बताउँदै परराष्ट्रमन्त्री साउदले दशकौंदेखि जापानले विकास साझेदारका रूपमा नेपालसँग काम गर्दै आएको र नेपालको सामाजिक–आर्थिक विकासमा सहकार्य गर्दै आएको बताउनुभयो ।
राजदूत किकुटाले सन् २०१५ मा गएको गोरखा भूकम्पको ८औँ वार्षिकोत्सवको स्मरण गर्दै भूकम्पपछिको क्षतिको पुनरुत्थानका लागि नेपाल सरकार र नेपाली जनताको प्रशंसा पनि गरे ।
राजदूतले विपद् रोकथामका लागि जनचेतना अभिवृद्धि गर्नुका साथै लचिलोपनमा सुधार ल्याउने महत्त्व औंल्याए र यस क्षेत्रमा जापानको अनुभव आदान प्रदान गर्ने इच्छा व्यक्त गरे।




