भुक्तानी सेवा प्रदायक ई-सेवाका प्रयोगकर्ताहरूले अब आफ्नो ई-सेवा खाताबाट एटीएम मेसिनमार्फत पैसा झिक्न सक्नेछन् ।

कम्पनीले एभरेष्ट बैंकसँगको सहकार्यमा नयाँ सेवा सुरु गरेको हो ।

एटिएमबाट ई–सेवामा रकम झिक्दा कुनै पनि प्रकारको कार्ड प्रयोग गर्नु पर्दैन ।

प्रयोगकर्ताहरूले सजिलैसँग आफ्नो मोबाइल फोनमा OTP मार्फत ATM बाट नगद निकाल्न सक्छन्।

यसअघि इ–सेवामा रकम झिक्नका लागि प्रयोगकर्ताले बैंक खातामा ट्रान्सफर गर्नुपर्थ्यो ।

नेपालका वालेट कम्पनीहरूमध्ये पहिलो पटक यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।

सेवाको बारेमा जानकारी दिन ललितपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा इ–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, ‘हामीले सधैँ नगदरहित अर्थतन्त्रलाई प्राथमिकता दिँदै सोही प्रकारका सेवा सञ्चालन गर्दै आएका छौं ।

तर कहिलेकाहीँ ई-सेवामा रकम नगद चाहिन्छ, त्यसैले प्रयोगकर्तालाई सहज बनाउने उद्देश्यले हामीले यो सेवा सुरु गरेका हौँ ।”

त्यसैगरी, एभरेष्ट बैंकका डेपुटी सीईओ विजयकुमार शर्माले इ–सेवा जस्ता नेपालको पहिलो र अग्रणी वालेट कम्पनीसँग सहकार्य गर्न पाउँदा आफूहरु उत्साहित भएको बताए । ‘इ–सेवा प्रयोगकर्ताले देशभर रहेका एभरेष्ट बैंकको जुनसुकै एटिएम मेसिनबाट सजिलै पैसा झिक्न सक्नेछन्’, उनले भने ।

हाल करिब ७५ लाख ग्राहकले एन्ड्रोइड र आइओएस मोबाइलबाट ई–सेवाको सेवा प्रयोग गरिरहेका छन् । यसका देशभर दुई लाख भन्दा बढी एजेन्टहरू छन्।