नेपालले मार्शल टापुसँग कूटनीतिक सम्बन्ध
२०८० असार १०, आईतवार ०९:५७
नेपाल र मार्सल टापुबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
शुक्रबार संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आयोजित एक समारोहमा संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरी सम्बन्धलाई औपचारिकता दिइएको हो ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र मार्सल आइल्याण्डका उहाँका समकक्षी अमातलेन एलिजाबेथ काबुवाले आ–आफ्नो देशका तर्फबाट सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको संख्या १८१ पुगेको छ ।सन्दर्भमा हेर्ने हो भने संयुक्त राष्ट्र संघका हाल १९३ सदस्य राष्ट्र छन् ।
नेपालको परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार दुई प्रतिनिधिबीच संयुक्त राष्ट्रसंघलगायत द्विपक्षीय र बहुपक्षीय परिवेशमा दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान भएको छ
मार्शल टापुहरू १८१.३ वर्ग किलोमिटर क्षेत्रफल भएको लगभग ६०,००० मानिसहरूको राष्ट्र हो। यो मध्य प्रशान्त क्षेत्रमा अष्ट्रेलिया र अमेरिकी राज्य हवाईको बीचमा अवस्थित छ।
यो स्वतन्त्रता प्राप्त गर्दा अक्टोबर २१,१९८६सम्म संयुक्त राज्य अमेरिका द्वारा प्रशासित ट्रस्टीशिप थियो। यो १९९१ मा संयुक्त राष्ट्र को सदस्य भयो।
त्यसको एक दिनअघि बिहीबार नेपालले क्यामरुनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो ।
संयुक्त राष्ट्रसंघका लागि दुई देशका स्थायी प्रतिनिधिहरूले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसलाई स्थापनाको जानकारी दिने संयुक्त पत्रमा हस्ताक्षर गरे।




