नेपालमा २० औं राष्ट्रिय धान दिवस शुक्रबार देशभर मनाइँदैछ ।

प्रत्येक वर्ष नेपाली महिना असारको १५ औँ दिन धान खेतीको मौसम शुरु भएको दिन मनाइन्छ । असार १५ लाई दही र चिउरा खाने दिनको रूपमा पनि मनाइन्छ।

नेपालले सन् २००५ देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको मन्त्रीस्तरीय निर्णयअनुसार डिसेम्बर १४, २००४ मा भएको थियो।

यस वर्षको राष्ट्रिय धान दिवसको नारा “धान उत्पादन बढाउन जलवायु अनुकूल किसानमैत्री प्रविधि” रहेको छ।

यस नाराको उद्देश्य धान खेतीमा जलवायु परिवर्तनको बढ्दो नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न जलवायु अनुकुलन प्रविधिको अनुसन्धान र विकासका साथै प्रविधिको प्रवर्द्धन गर्नु र ती प्रविधि अपनाउन किसानलाई सचेत गराउनु रहेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा रामकृष्ण श्रेष्ठले बताए ।

उनका अनुसार केन्द्रीय स्तरमा नेपाल कृषि अनुसन्धान परिषद्को प्राङ्गणमा मन्त्री, किसान, अनुसन्धानकर्ता र सरकारी अधिकारीको उपस्थितिमा मेसिनको सहायताले धान रोपाइ धान दिवस मनाइने छ ।

त्यसैगरी धान उत्पादन बढाउन जलवायु अनुकुलन प्रविधि प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्न प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

“जलवायु परिवर्तन धान रोपाई र यसको उत्पादकत्वमा ठूलो चुनौतीका रूपमा देखा परेकाले हामीले उत्पादन बढाउन जलवायुमैत्री प्रविधिलाई प्रवर्द्धन गर्ने नारा रोजेका छौं,” उनले वताए ।