एसीसी इस्ट जोन यू–१६ कप क्रिकेटअन्तर्गतको खेलमा नेपालले मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । एसीसी ईस्ट जोन यू–१६ कप क्रिकेट मलेसियामा हुँदैछ ।

बेयुमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई ८४ रनले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

यो जितसँगै नेपाल समूह ‘ए’ को विजेता बनेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ३३.४ ओभरमा सबै विकेट गुमाएर १८३ रन जोडेको थियो । नेपालका लागि अशोक धामीले सर्वाधिक ५२ रन जोडे भने सूर्याशु कोइराला र नरेन भट्टले २९–२९ रन बनाए । त्यस्तै दीप भुजेलले १५ रन जोडे भने निरजकुमार यादवले आठ रन जोडे ।

नेपालले दिएको लक्ष्य पछ्याएको मलेसियाले ३०.५ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनायो । मोहम्मद हेरिलले २५ रन बनाए भने कप्तान मोहम्मद अलिफले १५ रन बनाए । हेरिल र अलिफ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

नेपालका लागि अशोक धामीले ४ विकेट लिए भने कप्तान अभिषेक तिवारीले ३ र सन्तोष यादवले २ विकेट लिए ।

यो हारसँगै मलेसिया समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ ।