नेपाल आयल निगमले हिजो राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेको छ । निगमका अनुसार देशको भूभागलाई तीन भागमा विभाजन गरी मूल्य समायोजन गरिएको हो ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पहिलो श्रेणीमा डिजेल, पेट्रोल र मट्टितेलमा ७ रुपैयाँ ५० रुपैयाँ, दोस्रोमा ६ रुपैयाँ र तेस्रोमा ५ रुपैयाँ मूल्य घटाइएको छ ।

पेट्रोलको मूल्य पहिलो श्रेणीको क्षेत्रमा प्रतिलिटर १६७.५०, दोस्रो श्रेणीको लागि १६९ रुपैयाँ र तेस्रो श्रेणीको लागि १७० रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि देशभर पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ थियो । डिजेल र मट्टितेलको मूल्य पहिलो श्रेणीको हकमा १४७ रुपैयाँ ५० पैसा, दोस्रो श्रेणीको क्षेत्रमा प्रतिलिटर १४९ रुपैयाँ र तेस्रो श्रेणीको क्षेत्रमा प्रतिलिटर १५० रुपैयाँ तोकिएको छ ।

निगमले पहिलो श्रेणीमा चारआली, विराटनगर, जनकपुर, वीरगन्ज, अमलेखगन्ज, भालबारी, नेपालगन्ज र धनगढी, दोस्रोमा सुर्खेत र दाङ तथा तेस्रोमा काठमाडौं, पोखरा र दिपायललाई राखेको छ ।

त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटेको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर ११५ अमेरिकी डलरले घटाएको छ ।

तर, एलपी ग्यास वा खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ