लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले स्वीकृत भएको छ ।
बुधबार बसेको प्रदेशसभा बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।


प्रदेश सभामा अर्थमन्त्री धनबहादुर मास्कीले कार्यकारिणी बजेट प्रस्ताव पारित गर्न विचार गरियोस् भनी विधेयक प्रस्तुत गरेका थिए । सभामुख तुलाराम घर्तीले बजेट प्रस्तावलाई ध्वनि मतका आधारमा बहुमतले पारित गरेको घोषणा गरे ।


अर्थमन्त्रीले सरकारको तर्फबाट आर्थिक वर्ष २०८०/८१ का लागि करिब ४० अर्ब ४७ करोड ९० लाख रुपैयाँको बजेट प्रदेशसभामा पेस गरेका थिए ।


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारले ल्याएको बजेटको विरोध गर्दै आएको छ । जसका कारण लगातार चार दिनसम्म प्रदेशसभा अवरुद्ध भएको थियो ।


मंगलबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रमुख प्रतिपक्षी दलका नेताबीचको वार्तापछि प्रदेशसभाको बैठकले कामकाज जारी राखेको थियो ।