मन्त्रिपरिषद्ले एडीबीको ३० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकृत
२०८० असार २२, शुक्रबार ०७:०२
सरकारले उपक्षेत्रीय यातायात अभिवृद्धि आयोजना सञ्चालन गर्न एसियाली विकास बैंक (एडिबी)बाट ३० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भन्सार तथा लजिस्टिक इम्प्रुभमेन्ट कार्यक्रमअन्तर्गत बजेट सहायताका लागि एडीबीबाट प्राप्त हुने ५ करोड अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
एडीबीका अनुसार कार्यक्रमले भन्सार प्रक्रियामा सुधार गरी भन्सार महसुल र शुल्कको इलेक्ट्रोनिक भुक्तानी, र निर्यात कागजातको इलेक्ट्रोनिक पेसिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हालको भन्सार सुधार र आधुनिकीकरण योजना कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोक, पाल्पा र नवलपरासी (बर्दघाट सुस्तापुरवा) जिल्लामा विद्युत् प्रसारण लाइन र सबस्टेसनका लागि जग्गा अधिग्रहण गर्न एमसीए–नेपाललाई स्वीकृत गरेको छ ।
मन्त्री शर्माले बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप गर्न सरकारले कठिनाइ हटाउन आदेश जारी गरेको जानकारी पनि दिए ।
त्यसैगरी कास्की जिल्लाको मध्यपहाडी लोकमार्गअन्तर्गत रुधिखोला–भैंसे सडकखण्डमा रहेका बस्ती र झुपडी हटाउन सरकारले स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद्को बैठकले थाइल्याण्डको बैंककमा हुन लागेको शिक्षा सम्बन्धी कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीलाई पनि सहभागी गराउने स्वीकृत गरेको छ । सरकारले सहसचिव घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गरेको छ भने कानून समूहका केही सहसचिवको सरुवा गर्ने निर्णय पनि भएको छ ।




