नेपालीबाट हङकङ र मकाउसम्म बोतलको पानी
२०८० असार २३, शनिबार १९:३२
ककनीमा रहेको एक कम्पनीले हङकङ र मकाउमा बोतलबंद मिनरल वाटर निर्यात गर्न थालेको छ । गुणस्तर परीक्षणका लागि पठाइएको पानीको बोतलको नमूना स्वीकृत भएपछि वेभ नेपाल प्रा. लिमिटेडले गत वैशाखमा निर्यात सुरु गरेको थियो ।
कम्पनीले हङकङको नियमावलीले आवश्यक पर्ने पानीको गुणस्तर मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत हङकङमा पानी निकासी गर्न थालेको कम्पनीका निर्देशक विकास खत्रीले बताए ।
“अहिले हङकङमा पानीको औसत मूल्य प्रति बोतल ९० देखि १०० रुपैयाँसम्म छ। नेपालबाट निकासी हुने पानी तुलनात्मक रूपमा सस्तो भएकाले नेपाली कम्पनीले हङकङमा प्रतिस्पर्धा गर्न सक्छन्,” उनले भने।
कम्पनीले हङकङ र मकाउमा पानी निर्यात गर्न स्वीकृत गरेको छ। कम्पनीको करिब एक लाख लिटर पानी निर्यात गर्ने क्षमता छ । माग बढेमा क्षमता विस्तार गर्ने योजना पनि रहेको खत्रीले बताए ।
यसैबीच कम्पनीले बंगलादेश, कतार, साउदी अरब र अष्ट्रेलियामा पनि पानी निर्यात गर्ने काम गरिरहेको छ । कम्पनीले काठमाडौंको तारकेश्वर नगरपालिका–३ मा १२० करोडको लगानीमा प्लान्ट स्थापना गरेको हो । कम्पनीले हाल ३३ जनालाई रोजगारी दिएको छ भने अन्य ५०० जनालाई अप्रत्यक्ष रोजगारी दिएको छ ।
कम्पनीले प्रयोग गरेको पानीको स्रोत ६ हजार ६ सय ७० फिटको उचाइमा रहेको ककनीमा रहेको छ ।
कम्पनीका निर्देशकमा विकास खत्री, शालिग्राम ढुंगाना, पुन्काजी महर्जन र राजु रिमाल रहेका छन्




