प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इलाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) स्थापनाका लागि सरकारले तत्काल पहल गर्ने बताउनुभएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठान स्थापनाका लागि सरकारले पहल गर्ने बताए ।

इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि प्रधानमन्त्री सकारात्मक रहेको बताउँदै त्यसका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाउन निर्देशन पनि दिएको नेता खनालका सहयोगी कृष्ण भट्टराईले जानकारी दिए ।

प्रतिनिधिमण्डलमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य धिरण शर्मा, इलाम नगरपालिकाका मेयर केदार थापा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा डा राजेन्द्रराज वाग्ले, अधिवक्ता समिप घिमिरे, कृष्ण भट्टराई, मनिष गौतम, ललित ढुंगाना सहभागी थिए