अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले शाेक प्रकट गर्न बालुवाटार पुगे
२०८० असार ३०, शनिबार ०७:४५
नेकपा (माओवादी केन्द्र)की नेतृ एवं प्रधानमन्त्रीकी धर्मपत्नी सीता दाहालको निधनप्रति शुक्रबार प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रमुख तथा कूटनीतिक नियोगका प्रतिनिधिले दुःख व्यक्त गरेका छन् ।
सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानसेनापति प्रभुराम शर्मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर श्रीमतीको निधनप्रति समवेदना प्रकट गरेका थिए ।
त्यसैगरी, अमेरिकी दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु, नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले बालुवाटारमा स्वर्गीय सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यसअघि अर्थमन्त्री डा प्रकाशशरण महत, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदान किराती र सहरी विकासमन्त्री सीता गुरुङले प्रधानमन्त्रीलाई भेटेर भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रधानमन्त्री र उहाँको परिवारलाई सान्त्वना दिन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता डा शशांक कोइरालालगायत नेता तथा कार्यकर्ता बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीलाई नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायतले भेटेर शोक सन्देश दिएका थिए ।
सरकार प्रमुखलाई सान्त्वना दिन कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा र नेता हितराज पाण्डे बालुवाटार पुगेका थिए ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खडकबहादुर विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, सांसद शोभिता गौतमलगायत पार्टीका नेताहरुले शोकसन्तप्त परिवारलाई भेटेका छन्
प्रधानमन्त्री र उहाँको परिवारलाई सान्त्वना दिन पाँच हजारभन्दा बढी मानिस बालुवाटार पुगेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।




