बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले क्षेत्रीय सङ्गठनभित्रको सहकार्यलाई सुदृढ बनाउने विषयमा छलफल गरेका छन् ।

थाइल्याण्डको बैंककमा आज बिमस्टेकका विदेशमन्त्रीहरुको बैठकमा ऊर्जा सहयोग, विद्युत् प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य तथा खाद्य सुरक्षा र प्रविधिलगायत विषयमा छलफल भएको परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले जानकारी दिए

“बैंककमा हामी बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले आपसी सहयोगलाई सुदृढ गर्ने विषयमा फलदायी छलफल गरेका छौं। हाम्रो छलफलका प्रमुख क्षेत्रहरू ऊर्जा, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा र प्रविधि थिए,” उनले भने।

मन्त्री साउद बिमस्टेक विदेश मन्त्रीहरुको रिट्रिटमा सहभागी हुन आइतबार बैंककतर्फ प्रस्थान गरेका हुन् ।

नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य हुन्

विदेशमन्त्री साउद र उनका भारतीय समकक्षी एस जयशंकरले आज बैंककमा ‘साइडलाइन’ बैठक गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल बिमस्टेक क्षेत्रमा जन-जन सम्पर्क प्रवर्द्धन गर्ने अग्रणी देश हो।