मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित
२०८० आश्विन १०, बुधबार १९:४१
१९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा आज नेपालले पहिलो खेलमा मंगोलियामाथि कीर्तिमानी जित हात पारेको छ ।
बुधबार भएको खेलमा नेपालले म्याग्नोलियालाई २७३ रनले पराजित गरेको हो ।
नेपालको पुरुष क्रिकेट इतिहासमा यो अहिलेसम्मकै ठूलो जित हो ।
चीनको झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन जोडेको थियो ।
विशाल लक्ष्य पछ्याएको मङ्गोलिया १३.१ ओभरमा ४१ रनमा अलआउट भयो।
नेपालका बलर करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।
यसअघि नेपाली ब्याट्सम्यान कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले कीर्तिमान बनाएका थिए । कुशल मल्लले ३४ बलमा पहिलो शतक बनाएर कीर्तिमान बनाएका छन् ।
उनले डेभिड मिलर (दक्षिण अफ्रिका), सुदेश विक्रमशेखर (चेक रिपब्लिक) र रोहित शर्मा (भारत) को सबैभन्दा छिटो शतकको कीर्तिमान तोडेका छन्।
त्यसैगरी दीपेन्द्रसिंह ऐरीले नौ बलमा अर्धशतक प्रहार गर्दै अर्को विश्व कीर्तिमान बनाए । यसअघि भारतीय ब्याट्सम्यान युवराज सिंहको नाममा १२ प्रहारमा अर्धशतक प्रहार गर्ने विश्व कीर्तिमान थियो ।
कुशल मल्लले ५० बलमा १३७ रन र ऐरीले १० बलमा ५२ रन बनाएर नेपाललाई कीर्तिमानी जित दिलाए ।
मल्लले १२ छक्का र आठ चौका प्रहार गरे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले २७ बलमा ६१ रन, कुशल भुर्तेलले २३ बलमा १९ र शेखले १७ बलमा १६ रन बनाए ।
नेपालले अर्को खेल माल्दिभ्ससँग खेल्नेछ ।




