१९ औँ एसियाली खेलकुदमा नेपालको राष्ट्रिय टोलीबाट टी–२० क्रिकेट खेलेका नेपाल प्रहरीका पाँच क्रिकेटर उत्कृष्ट प्रदर्शन गरेबापत सम्मानित भएका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक तथा नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष वसन्तबहादुर कुँवरले बिहीबार एक कार्यक्रमका बीच क्रिकेट खेलाडीहरुलाई अभिनन्दन गरेका हुन् ।

सम्मान पाउनेमा नेपाल प्रहरीका कप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, सागर ढकाल र करण केसी र गुल्सन झा छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरीका प्रमुख कुँवरले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल प्रहरीका क्रिकेट खेलाडीले गरेको प्रदर्शनले प्रहरी संगठनको अस्तित्व र गरिमा बढाउन मद्दत गरेको बताए ।

कुँवरले नेपाल प्रहरीका खेलाडीलाई आफ्नो खेलकुदमा थप विकास र बलियो बनाउन आग्रह गरे ।

नेपाल प्रहरी प्रमुखले उत्कृष्ट खेलाडीबाट सिङ्गो प्रहरी सङ्गठनले गौरव र आनन्द महसुस गरेको बताउँदै तालिम र व्यवस्थापनबाट खेलाडीको क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरी खेलकुद समिति पनि उत्तिकै सक्रिय रहनुपर्ने बताए ।

सो अवसरमा क्याप्टेन ऐरीले नेपाल प्रहरीमा आबद्ध हुन पाएकोमा आफू गौरवान्वित भएको बताए ।