एसियाली खेलकुदमा पदक जितेका खेलाडीलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्ड
२०८० आश्विन २५, बिहीबार ०५:१८
खेलकुदको विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चीनमा भर्खरै सम्पन्न १९औँ एसियाली खेलकुदमा पदक जितेका खेलाडीलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले थप पदक जित्न र उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई आग्रह गरेका छन् ।
बुधबार साँझ आफ्नै निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले खेलमा महिला खेलाडीले राम्रो प्रदर्शन गरेको बताए । नेपालले आगामी दिनमा अझ धेरै उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै उनले खेलाडीलाई प्रेरणा दिन हाङ्जाओ पुगेको स्मरण गराए ।
प्रधानमन्त्री प्रचण्डले पदक जित्ने खेलाडीलाई पुरस्कृत गर्ने घोषणा पनि गरेका छन् । त्यसैगरी क्रिकेट खेलाडीलाई पनि सरकारले पुरस्कृत गर्ने उनको भनाइ छ । ‘खेलाडीलाई प्रोत्साहनका लागि अवार्ड दिने घोषणा गरेको थिएँ, यसका लागि सरकारले नियमावली पनि बनाएको छ, अर्थ मन्त्रालयले एक साताभित्र अवार्डको रकम सार्वजनिक गर्नेछ,’ प्रधानमन्त्री प्रचण्डले भने । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा १९ औं एसियाली खेलकुदमा पदक जितेका महिला खेलाडीहरुको समेत उपस्थिति रहेको थियो । महिला कबड्डीमा नेपालले कास्य र व्यक्तिगत करातेमा रजत पदक जितेको उल्लेख छ ।




