सीमापार अपराध नियन्त्रण गर्न चीनसँगको सहकार्य
२०८० आश्विन ३०, मंगलवार २१:२४
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्रीले मंगलबार चिनियाँ जनसुरक्षामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) सचिवालय सदस्य वाङ सियाओङसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।
दुई नेताबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय सहकार्यका क्षेत्रका विषयमा छलफल भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले ‘एक चीन नीति’प्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको दोहोर्याए । ‘नेपालको आन्तरिक र बाह्य राजनीतिक परिस्थितिमा जतिसुकै परिवर्तन आए पनि एक चीन नीतिप्रति नेपालको अडिग र स्पष्ट अडान छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने । उपप्रधानमन्त्री श्रेष्ठले कानून कार्यान्वयन, सीमा व्यवस्थापन, सुरक्षाकर्मीको क्षमता अभिवृद्धिलगायतका विषयमा द्विपक्षीय सहकार्यलाई अगाडि बढाउने उपायबारे पनि छलफल गर्नुभएको थियो । उनले शान्ति सुव्यवस्था कायम राख्न र सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि सीमापार सुरक्षा सहयोग अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । भेटमा चिनियाँ मन्त्री सियाओहोङले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई विपद् व्यवस्थापनको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
दुवै नेताले नेपाल–चीन सीमा क्षेत्रमा १४ वटा ट्रान्जिट नाका खोलेकोमा प्रशंसा गरेका थिए । उनीहरुले सीमा नाका खोल्दा द्विपक्षीय व्यापारिक अवसर मात्रै नभई दुई देशबीचको जनस्तरको सम्बन्धलाई पनि प्रगाढ बनाउने बताए ।
बैठकमा नेपालका तर्फबाट उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल सहभागी थिए । जबकि चिनियाँ तर्फबाट मन्त्री सियाओङ र उच्च पदस्थ सरकारी अधिकारीहरू बैठकमा सहभागी थिए।




