ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दशैं, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वमा अवरोध नहोस् भनेर विद्युत् आपूर्ति नियमित गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

मन्त्रीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवाल र प्राधिकरणको लोड डिस्प्याच सेन्टरका प्रमुख सुरेशबहादुर भट्टराईलाई सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर प्राधिकरणका वितरण केन्द्रका प्रमुखलाई निर्देशन दिएका थिए । काठमाडौं उपत्यकाले एउटै घरबाट गुनासो गर्ने ठाउँ नदिई नागरिकलाई सहज विद्युत् आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ ।

‘जनताको गुनासो गर्ने ठाउँ नहोस्, २४ सै घण्टा जिम्मेवार र सक्रिय बनौँ । चाडपर्वमा केही मिनेट विद्युत् अवरुद्ध हुँदा वर्षभरि गरेको राम्रो कामलाई बिगार्छ ,’ मन्त्री बस्नेतले भने ।

उनले चाडपर्वमा उद्योग तथा व्यवसायमा बढीभन्दा बढी बिजुली वितरण गर्न प्राधिकरणलाई निर्देशन दिँदै बढी विद्युत् खेर जान नदिने अवस्था सिर्जना गर्न पनि सुझाव दिए ।

ऊर्जा मन्त्रीले प्राधिकरणलाई आफ्ना नो-लाइट सेन्टरहरूलाई थप जिम्मेवार बनाउन, ग्राहकको फोन कल प्राप्त गर्ने व्यवस्था तुरुन्त गर्न र कुनै समस्या परेमा केही मिनेटमै उपभोक्ताको घरमा पुग्ने र्यापिड टोलीको व्यवस्थापन गर्न आग्रह गरे।

मन्त्री बस्नेत प्राधिकरण सञ्चालक समितिको अध्यक्ष समेत हुन् ।

सो अवसरमा मन्त्रालयका सचिव गोपाल सिग्देलले उपभोक्तालाई केन्द्रमा राखेर सेवा उपलब्ध गराउन प्राधिकरणका कार्यकारी निर्देशक र अन्य पदाधिकारीलाई निर्देशन दिए ।

कार्यकारी निर्देशक घिसिङले उपत्यका र सहरी क्षेत्रमा जनशक्तिको व्यवस्थापन गरी चौबिसै घण्टा परिचालन गरिने जानकारी दिए । उनले चाडपर्वको समयमा वितरण केन्द्रको नियमित अनुगमन र निरीक्षण गरी उपभोक्ताको गुनासो नआउने बताए ।

उनले भने, ‘विद्युतको दुरुपयोग रोक्न सकेसम्म पहल गरेका छौँ। अतिरिक्त विद्युत् भारतीय बजारमा पु¥याउने तयारी पनि भइसकेको छ, तर (भारतीय पक्षबाट) अहिलेसम्म अन्तिम सहमति भने आएको छैन ।