संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले मंगलबार अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्कट नाथनसँग भेटवार्ता गर्नुभएको छ ।

सो अवसरमा उनीहरुबीच नेपालमा निगमको लगानीका विषयमा छलफल भएको बताइएको छ । मन्त्री साउदले नेपालमा निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि सरकारको रणनीतिबारे प्रकाश पार्दै निगममार्फत नेपालमा लगानी प्रवाह बढाउन प्रमुख कार्यकारी अधिकृत नाथनलाई आग्रह गरेका थिए ।

निगमका प्रमुख नाथनले नेपालको आर्थिक विकास र सम्भावित क्षेत्रका लागि निगमको लगानी वृद्धिका बारेमा आफ्नो दृष्टिकोण राखेका थिए ।

अमेरिकी सरकारको एक हिस्साका रूपमा निगमले अहिले ११० देशमा ३६ अर्ब ४५ करोड अमेरिकी डलर लगानी गरेको छ। साथै संस्थानले पूँजीगत लगानीबाट निजी क्षेत्रको विकासका लागि वित्तीय साधन परिचालन गर्दै आएको छ