हङकङमा जारी महिला टी–२० क्वाड्रङगुलर सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ ।

रुबिना क्षेत्रीले ३२ बलमा ३८ र कप्तान इन्दु बर्माले ३१ बलमा २७ रन बनाएर नेपालले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन जोडेको थियो । काजल श्रेष्ठ र पूजा महतोले क्रमशः १५ र १३ रनको योगदान दिए ।

टस जितेर पहिले बलिङ गर्ने जापानका लागि एलेना–कुसुदा नायर्नले २ तथा मेग ओगावा र अयुमी फुजिकावाले एक–एक विकेट लिए ।

जवाफमा जापान इनिङ्सको अन्तिम बलमा ४६ रनमा मात्र अल आउट भयो। जापानका लागि मेग ओगावाले २९ बलमा १७ रन बनाएर सर्वाधिक रन बनाइन् भने सेका सुमी दोहोरो अंकमा पुग्ने दोस्रो ब्याट्सवुमन थिइन् ।

बलिङतर्फ नेपालका लागि अस्मिना कर्माचार्यले ४ ओभरमा १० रन दिएर ४ विकेट लिइन् भने संगीता राईले ३ ओभरमा ५ रन दिएर ३ विकेट लिइन् । पूजा महतोले ३ ओभरमा २ रन दिएर २ विकेट लिएकी थिइन् ।

जितसँगै नेपाल दुई खेल हारेर जारी शृंखलाको उपाधिको दौडबाट बाहिर छ । बुधबार भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो । त्यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको थियो ।

महिला टी–२० क्वाड्रङगुलर सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।

आईसीसी वरियतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ, हङकङ २२औँ र जापान ५१औँ स्थानमा छ ।

कप्तान इन्दु बर्माको नेतृत्वमा रहेको नेपाली टोलीमा उपकप्तान विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुशी डंगोल, संगीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र रोमा थापा रहेका छन् । 

मनोज कटवाल नेपाली महिला क्रिकेट टोलीका प्रशिक्षक हुन्