पेरिस सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदैनः प्रधानमन्त्री प्रचण्ड
२०८० मंसिर १६, शनिबार २०:३२
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयनमा ढिलाइ नहुने बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप २८) का पक्षहरूको २८औँ सम्मेलनका अवसरमा आज आयोजना गरिएको हिमालसम्बन्धी उच्चस्तरीय वार्तामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
‘पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयनमा ढिलाइ भएको र यसले हिमालमा पनि ठूलो असर पार्नेछ र संकट आइसकेको छ,’ उनले भनेका छन्
उनले यस सम्मेलनबाट स्थापना हुने नोक्सान नोक्सानी कोष समन्यायिक हुनुपर्ने, प्रक्रिया सहज र पारदर्शी हुनुपर्ने र नेपालजस्ता मुलुकले फाइदा लिन सक्नेमा जोड दिए ।
‘यो विषय हाम्रो न्याय र अधिकारको विषय हो,’ प्रधानमन्त्री प्रचण्डले यस समस्यालाई सम्बोधन गर्न सामूहिक पहल गर्नुपर्नेमा जोड दिए ।
यस अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले हिमालको समस्या सम्बोधन गर्न ढिलाइ भए अपूरणीय क्षति हुने बताउँदै जिम्मेवार मुलुक र क्षेत्रले जतिसक्दो चाँडो सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
“मैले हिमालयमा जलवायु परिवर्तनको प्रभाव देखेको छु। त्यहाँ पहिले नै ढिलाइ भइरहेको छ। यसलाई सम्बोधन गर्न सबै एकजुट हुनुपर्छ।”
एन्डोराका प्रधानमन्त्री, किर्गिस्तानका मन्त्रीहरू, भुटानका प्रतिनिधिमण्डलका प्रमुख, विभिन्न निकायका उच्चपदस्थ अधिकारी, वैज्ञानिकलगायत अन्य सहभागीले पेरिस सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका थिए ।
युएईमा नोभेम्बर ३० बाट सुरु भएको कोप २८ डिसेम्बर १२ सम्म चल्नेछ ।




