कोशी प्रदेशमा सीमास्तम्भ मर्मतको काम सुरु
२०८० मंसिर १९, मंगलवार १०:५२
कोशी प्रदेशमा सशस्त्र प्रहरी बल नेपालले मेचीनगर र भद्रपुर नगरपालिकाबाट सुरु हुने नेपाल–भारत सीमास्तम्भको मर्मत सम्भार र रङ लगाउने काम थालेको छ ।
भारतीय अधिकारीसँग भएको समझदारीअनुसार बिजोर अंकका सीमा स्तम्भ मर्मत र रंग लगाउने जिम्मा नेपाली पक्षका सुरक्षा अधिकारीलाई दिइएको छ । सोमबार मेचीनगर नगरपालिका–७ दशगजा नजिकै रहेको सीमा स्तम्भ नम्बर ९१/१ एए–५५ बाट काम सुरु भएको हो ।
स्तम्भ मर्मतको जिम्मा नम्बर २ सशस्त्र प्रहरी बल नेपाल झापाले लिएको छ । सन् २०१८ मा बसेको नेपाल–भारत सीमा कार्यदलको पाँचौं बैठकले स्तम्भ मर्मत सम्भारको काम गर्ने निर्णय गरेको थियो ।
झापा क्षेत्रसँगै नेपाल र भारतबीच १४४.०२ किलोमिटर सीमा नाका छ । झापामा रहेका ९ सय ९५ साना ठूला स्तम्भमध्ये ३१७ वटा स्तम्भ मर्मत गर्नुपर्ने आवश्यकता रहेको प्रहरी उपरीक्षक तथा सशस्त्र प्रहरी बल झापा नं २ गणका प्रमुख देवराज अर्यालले बताए ।
नेपाल सरकारले भदौ ३ गते एपीएफलाई पिलर मर्मतसम्भारको अख्तियारी दिएको थियो ।
भारतीय पक्षले समझदारी बमोजिम बराबर संख्यामा स्तम्भ मर्मत गर्नेछ । सशस्त्र प्रहरी बल नम्बर १ ब्रिगेड कार्यालय सुनसरीका प्रवक्ता रविनराज कर्णजितले सशस्त्र प्रहरी बलले ४ सय ८४ वटा स्तम्भ मर्मत गर्नुपर्ने बताए । यसअघि भारतीय पक्षले ३ सय ४४ वटा स्तम्भ मर्मत गरिसकेको छ ।
झापामा सशस्त्र प्रहरी बलले ३१७, मोरङमा ३४ र सुनसरीमा १३३ वटा स्तम्भ मर्मत गर्नु परेको थियो ।
४८४ सिमा स्तम्भमध्ये १९९ सीमा स्तम्भ मात्र रंगिने, २२१ वटा सामान्य मर्मतसम्भार, ५९ वटा सामान्य मर्मत र पाँच वटा मात्रै पूरै मर्मत हुनेछन् ।




