ठमेल क्षेत्रमा सिसी क्यामेरा जडानको काम सुरु
२०८० मंसिर २१, बिहीबार १७:१५
काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा सीसी क्यामेरा जडानको काम सुरु भएको छ ।
काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेल पर्यटन विकास परिषद्को पहलमा ठमेलका चोकचोकमा सीसी क्यामेरा जडान गरिएको हो ।
परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका साथै ठमेल क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन सीसी क्यामेरा जडान गरिएको जानकारी दिनुभयो ।
उनले ठमेल क्षेत्रको लैनचौर मार्ग, क्षेत्रपति मार्ग, नर्सिङचोक मार्ग, चाक्सिबारी मार्ग, सातघुम्टी मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गमा ८० वटा सीसी क्यामेरा जडान गरिएको बताए ।
“चार वटा ठूलासहित ११२ वटा सीसी क्यामेरा जडान गर्ने काम भइरहेको छ । हालसम्म ८० वटा सीसी क्यामेरा जडान भइसकेका छन्,” उनले भने ।
ठमेल क्षेत्रमा सीसी क्यामेरा जडान गर्नुअघि कामपा, काठमाडौं उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधिले ठमेल क्षेत्रमा आवश्यक पर्ने सीसी क्यामेराबारे अध्ययन गरेका थिए ।
परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल क्षेत्रमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सीसी क्यामेराले सहयोग पुग्ने बताए ।
ठमेल क्षेत्रको विकासका लागि २०४७ सालमा स्थापना भएको परिषदमा ठमेल क्षेत्रका २ हजारभन्दा बढी जग्गाधनी तथा व्यवसायी आबद्ध छन् ।




