एनसेलको शेयर कारोबार रोक्न संसदीय समितिको निर्देशन
२०८० पुष ३, मंगलवार २०:१३
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई तिर्नुपर्ने कर असुली गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले कम्पनीको शेयर बिक्री प्रकरणबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन नदिएसम्म कम्पनीको शेयर कारोवार हुन नदिन सरकारलाई निर्देशन दिएको छ ।
समितिका सभापति रामहरि खतिवडाले बैठकले दूरसञ्चार ऐन र नियमावलीलाई समयसापेक्ष बनाई परिमार्जन गर्न सरकारलाई आग्रह गरेको बताए । यसका साथै एनसेल जस्ता ठूला कम्पनीको सेयर खरिद बिक्री गर्दा खरिदकर्ताको क्षमता र व्यवसायिक अनुभवको मूल्याङ्कन गर्न सरकारलाई निर्देशन दिइएको छ ।
त्यसैगरी बैठकले एनसेललाई सरकारी स्वामित्वमा ल्याउन आवश्यक परिमार्जन गर्न सरकारलाई निर्देशन दिँदै एनसेलको शेयर बिक्रीमा नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिक्रियाबारे जानकारी लिने निर्णय गरेको छ ।




