गहुँ बालीका लागि रासायनिक मल पर्याप्त हुने
२०८० पुष ६, शुक्रबार १०:०१
मधेस प्रदेशका जिल्लाका किसानले यस वर्ष गहुँ खेतीलगायत हिउँदे बालीका लागि रासायनिक मलको अभाव झेल्नु नपर्ने भएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रदेश क्षेत्रीय कार्यालय, वीरगन्ज, पर्साले गहुँ खेतीका लागि आवश्यक परिमाणमा डीएपी रासायनिक मल जिल्लामा पठाइएको र छिट्टै युरिया मल आउने बताएको छ ।
मङ्सिर १३ गतेसम्म जिल्लामा १६ हजार २३ मेट्रिक टन डीएपी र १९ हजार २९९ मेट्रिक टन युरिया पठाइएको प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो ।“कृषकलाई गहुँको बीउ छर्ने समयमा डीएपी आवश्यक छ । प्राप्त मात्रामा डीएपी मल कोटा अनुसार जिल्लामा उपलब्ध गराइएको छ,’ उनले भने वताए ।
सिँचाइको समयमा बीउ छरेको तीन सातापछि किसानलाई युरिया चाहिन्छ, त्यो पनि केही दिनमै आइपुग्छ। करिब ३६ हजार मेट्रिक टन युरिया आउने प्रक्रियामा छ,’ पाण्डेले भने ।
यो मात्रा उपलब्ध भएसँगै गहुँ खेतीमा मलको संकट नपर्ने पाण्डेले बताए ।
मधेस प्रदेशका आठै जिल्ला, वाग्मती प्रदेशका १० जिल्ला र गण्डकी प्रदेशका तनहुँ, लमजुङ, गोरखा, कास्की, पर्वतलगायत जिल्लामा रासायनिक मल आपूर्ति गर्ने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रदेश क्षेत्रीय कार्यालय, वीरगन्ज, पर्साले लिएको छ ।




