प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेसनको उद्घाटन
२०८० पुष ६, शुक्रबार १२:४२
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इनरुवा सबस्टेसनको आज उद्घाटन गरेका छन् । इनरुवा सबस्टेसनलाई विद्युत् प्रसारण र वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण आयोजना मानिन्छ ।
सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको ४०० केभीको सबस्टेसन देशकै सबैभन्दा ठूलो सबस्टेसन हो । ग्यास इन्सुलेटेड सिस्टम (GIS) मा आधारित देशको दोस्रो ठूलो सबस्टेसन कात्तिक दोस्रो साता चार्ज गरिएको थियो।
उद्घाटन समारोहमा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा मन्त्रालयका उच्च अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थिति रहेको थियो ।
इनरुवामा २२०/१३२/३३ केभीको अर्को सबस्टेसन सञ्चालनमा आइसकेको छ ।
४०० केभी हेटौंडा–ढल्केबर–इनरुवा सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण भएको ४००/२२० केभी इनरुवा सबस्टेसनमा ३१५ एमभीएका तीनवटा पावर ट्रान्सफर्मर छन् । इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत् प्रसारण हुनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् स्थानीयस्तरमा उपभोग गर्न र अतिरिक्त विद्युत् भारत निर्यात गर्न इनरुवा सबस्टेसन मेरुदण्डको रुपमा रहेको बताए
कार्यकारी निर्देशक घिसिङले भने, “सबस्टेसनबाट राष्ट्रिय प्रसारण ग्रिडमा विद्युत् प्रवाहसँगै स्थानीय रूपमा विद्युत् आपूर्ति गरिने छ। यसले सो क्षेत्रमा भोल्टेजमा सुधार गरी विद्युतको भरपर्दो आपूर्ति सुनिश्चित गर्नेछ।”
भारतसँग विद्युत व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय प्रसारण लाइन प्रस्ताव गरिएको र यही सबस्टेसनबाट नेपाल–भारत र बंगलादेशबीच व्यापारका लागि इनरुवा–अनारमणी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको घिसिङले बताए ।
उहाँका अनुसार इनरुवा सबस्टेसन देशभित्र पूर्वदेखि पश्चिमसम्म विद्युत् आपूर्ति गर्ने र क्षेत्रीय विद्युत व्यापारका साथै भारतमा निकासी गर्ने अर्को ठूलो विद्युत केन्द्र बनेको छ ।
साथै, मोरङ–सुनसरी औद्योगिक करिडोरभित्रका उद्योगहरूलाई थप विद्युत् आपूर्ति गर्न सवस्टेसन महत्वपूर्ण हुनेछ । अरुण र तमोर नदी र तिनका सहायक नदीबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केसी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिनेछ ।
अरुण ‘हब’ इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव आएको छ । इनरुवा सबस्टेसनलाई भविष्यमा विस्तार गर्न सकिने गरी निर्माण गरिएको प्राधिकरणले जनाएको छ ।
डुबान, कोभिड–१९ को महामारी र निषेधाज्ञा, औजार र प्राविधिकको समयमै उपलब्धता नहुने जस्ता विभिन्न कारणले प्रतिकूल असर पारेको थियो ।




