स्वस्थ आलोचनाले सरकारलाई सम्भावित विचलनबाट रोक्छ : मन्त्री शर्मा
२०८० पुष १०, मंगलवार २१:१७
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार र राजनीतिक शक्तिलाई सम्भावित विचलनबाट निरुत्साहित गर्ने भएकाले सञ्चारमाध्यममा आउने स्वस्थ आलोचना स्वागतयोग्य रहेको बताउनुभएको छ ।
साउथ एसिया नेटवर्क टिभीले आज यहाँ आयोजना गरेको दोस्रो चाइना–नेपाल मिडिया समिटको उद्घाटन गर्दै उनले सरकारको स्वस्थ आलोचना र सम्भावित गल्तीविरुद्ध चेतावनी दिने सञ्चारमाध्यमका सामग्री मिडियाका सकारात्मक पक्ष भएको बताए ।
सरकारका प्रवक्ता शर्माले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको प्राथमिकतामा रहेको बताए ।
प्रेसको हक र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति नहुँदा राजनीतिक अधिकारको अवस्था अधुरो रहने उल्लेख गर्दै उनले नेपालमा प्रेस र अभिव्यक्ति स्वतन्त्रतासँगै राजनीतिक अधिकार स्थापित भएको बताए ।
उनले इतिहासमा लोकतन्त्रको महत्वपूर्ण आन्दोलनलाई सफल बनाउन सञ्चारमाध्यमको भूमिकालाई स्वीकार गरे ।
नेपाल र चीनबीच सन् १९५५ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भए पनि निकटका छिमेकीहरूले शताब्दीयौंदेखि सौहार्दपूर्ण सामाजिक–आर्थिक र सांस्कृतिक सम्बन्ध राख्दै आएका छन्,’ उनले भने, ‘मानव सभ्यताको विकासदेखि नै नेपाल र चीनबीच सुमधुर सम्बन्ध रहेको छ । भृकुटी र अरनिकोले यी सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ, यी सम्बन्धहरू अझ प्रगाढ बन्दै गएका छन् ।”
उनले दुई देशबीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन समय लागेको बताए
सञ्चार तथा सूचना मन्त्रीले पछिल्लो समय विश्व अर्थतन्त्रमा आएको संकुचनको प्रभाव सञ्चारमाध्यममा पनि देखिएको बताउँदै सामाजिक सञ्जालका कारण हुने चुनौतिलाई सामूहिक रूपमा सामना गर्नु हाम्रो सामुहिक चासो रहेको बताए । “सामाजिक साइटहरूको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन कानुनी पहलहरू सुरु भएका छन्।
नवीनतम आईटी आविष्कारहरूले प्रत्येक मिडियाको लागि डिजिटल प्लेटफर्मको माग गरेको छ।”
सरकार–सरकार र जनता–जनताबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन यस किसिमको कार्यक्रम अत्यावश्यक रहेको उनले बताइन् ।
नेपालका लागि कार्यवाहक राजदूत वाङ; नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी, नेपाल–चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठ र साउथ एसिया नेटवर्क टिभीका संस्थापक हाउ झिहोङले नेपाल–चीन सम्बन्धलाई थप सुमधुर बनाउन सञ्चारमाध्यमको भूमिकाबारे बोलेका थिए ।




