सरकारले बालकुमारीमा शुक्रबार भएको घटनामा ज्यान गुमाएका दुई युवाका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।

ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपमा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । सरकारले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको सरकारका प्रवक्तासमेत रहेका मन्त्री शर्माले जानकारी दिए ।

त्यस्तै घटनामा घाइते भएकाहरुको निशुल्क उपचारको व्यवस्था सरकारले गर्ने भएको छ । बैठकले घाइतेको उपचारका लागि गृह मन्त्रालयलाई आवश्यक बजेट अर्थ मन्त्रालयले उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारले शान्ति सुरक्षा कायम गर्न सबैलाई आग्रह गरेको उनले बताइन् ।

घटनालाई प्रमाणित गर्न गृह मन्त्रालयले हिजो नै समिति बनाएको बताउँदै मन्त्रीले यस्ता अप्रिय घटना दोहोरिन नदिन समितिले सुझाव दिने बताए ।