सरकारले भूकम्पपीडितलाई दिएको अनुदानमा रुकुम पश्चिम र जाजरकोट जिल्लामा १३ हजार ५ सयभन्दा बढी अस्थायी घर निर्माण भएका छन् ।

रुकुम पश्चिममा थप ९ हजार ३ सय ४१ अस्थायी घर निर्माण भइरहेका छन् ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरिप्रसाद पन्तका अनुसार जिल्ला विपद् कोषबाट हालसम्म स्थानीय विपद् कोषमा ५९ करोड २० लाख रुपैयाँ हस्तान्तरण भए पनि अनुदान रकमबाट सात हजार ७९ घर मात्र निर्माण भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार आठबिसकोट नगरपालिकामा तीन हजार १४ अस्थायी आश्रयस्थल निर्माण भएका छन् भने चार हजार १ सय आश्रय निर्माणाधीन छन् । चौरजहारी नगरपालिकामा २ सय ६५ अस्थायी घर निर्माण सम्पन्न भएको छ भने २ हजार ४ सय निर्माणाधीन छन् । त्यस्तै, मुसिकोट नगरपालिकामा हालसम्म २४ घर मात्र निर्माण भएका छन् भने ४८ वटा निर्माणाधीन छन् ।

यस्तै सानीभेरी गाउँपालिकामा हालसम्म तीन हजार ४२ अस्थायी घर निर्माण भइसकेका छन् भने थप दुई हजार २०३ घर निर्माण भइरहेका छन् । त्रिवेणी गाउँपालिकामा ६१७ घर निर्माण भइसकेका छन् भने ५५० घर निर्माणाधीन छन् । त्यस्तै बनफीकोट गाउँपालिकामा १ सय १७ घर निर्माण भएका छन् भने ४० वटा निर्माणाधीन छन् ।

जिल्ला दैवी प्रकोप कोषबाट २३ हजार ६०८ लाभग्राहीलाई पहिलो किस्ताको रकम सम्बन्धित स्थानीय तहको विपद् कोषमा पठाइएको प्रजिअ पन्तले बताए । स्थानीय तहले  १९ हजार ७१७ लाभग्राहीको खातामा ४९ करोड ३० लाख पठाएको छ ।