प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि आविष्कारमुखी कृषि प्रणालीको प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज आयोजित ‘वर्तमान स्थिति र दिगो विकासको भविष्य’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परम्परागत कृषि प्रणालीबाट मुलुकको समृद्धि सम्भव नभएको बताए ।

प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रको विकासबाटै रोजगारी सिर्जना, उत्पादन वृद्धि र आयात प्रतिस्थापन सम्भव भएको बताउँदै आधुनिक कृषि प्रणाली अपनाउनुपर्नेमा जोड दिए ।

उहाँले नेपालको दिगो विकासको मुख्य आधार कृषि मात्र भएको बताउनुभयो । वर्तमान सरकार कृषिलाई मुख्य आधार बनाएर समृद्धिको यात्रामा लागिपरेको बताउँदै प्रधानमन्त्रीले १६औँ पञ्चवर्षीय योजनामा ​​कृषिको भूमिका झल्किएको बताए । आफू पनि कृषिको विद्यार्थी भएकाले सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।

हरित क्रान्तिका लागि भारत सरकारको पहल उदाहरणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भारतका उपलब्धिबाट नेपालजस्ता देशले पाठ सिक्न सक्ने बताए । उनले नेपालका लागि उपयुक्त हुने विषयमा सरकार तयार रहेको बताए ।

सो अवसरमा पतञ्जली योगपीठका महासचिव आचार्य बालकृष्णले दिगो विकासका लागि कृषिको भूमिकाबारे प्रस्तुति दिँदै कृषि क्षेत्रमा गर्न सकिने कामबारे प्रकाश पारेका थिए । उहाँले दिगो विकासका लागि कृषिमा आधारित काम कसरी गर्न सकिन्छ भन्ने धारणा राख्नुभयो ।

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलगायतको सहभागिता थियो । मन्त्रिपरिषद्, मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवलगायत सरकारी अधिकारीहरु सहभागी थिए ।