फोहोरबाट ग्यास र मल
२०८० पुष १९, बिहीबार १०:१४
वीरेन्द्रनगरमा फोहोरबाट ग्यास र प्राङ्गारिक मल उत्पादन हुने गरेको छ । व्यक्तिगत लगानीमा सञ्चालित कर्णालीमा यो पहिलो हो । वीरेन्द्रनगर नगरपालिका–११ का युवा कृष्णप्रसाद ढकालले फोहोरलाई ग्यास र मलमा परिणत गर्न थालेका छन् ।
त्यसका लागि ढकालले रु १४ करोडको लगानीमा जर्मन प्रविधिबाट ग्यास प्लान्ट स्थापना गरेका हुन् । उक्त रकममध्ये ५ करोड विश्व बैंकले सहयोग गरेको छ । अहिले तरकारी बजार र पसलबाट फोहोर संकलन भइरहेको छ । ढकालले नगरपालिकाका प्रत्येक घरघरबाट फोहोर संकलन गर्ने योजना बनाएको छ ।
ग्यास उद्योग प्लान्टले अहिले दैनिक ७२० क्विन्टल ग्यास र नौ टन जैविक मल उत्पादन गरिरहेको छ । प्लान्टबाट उत्पादित ग्यास खाना पकाउनका साथै ग्यासबाट चल्ने सवारी साधन चलाउन प्रयोग गर्न सकिने ढकालले बताए ।
प्रतिकिलो १४० रुपैयाँमा ग्यास र २५ रुपैयाँमा मल बिक्री गर्ने उद्योगमा हाल १९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।




