नेपाल र भारतबीच आज विद्युत्सम्बन्धी दीर्घकालीन सम्झौतामा हस्ताक्षर भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुवै देशका सचिवहरूले उक्त दस्तावेजमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा हस्ताक्षरसँगै आगामी १० वर्षमा नेपालबाट भारतमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने द्विपक्षीय समझदारी भएको छ । समझदारीपत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका तर्फबाट ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को २०२३ मे ३१ देखि जुन ३ सम्मको भारत भ्रमणका क्रममा विद्युत् निर्यातसम्बन्धी द्विपक्षीय समझदारी भएको थियो । राष्ट्रहरू यस विषयमा सहमतिमा पुगे।

भारतको संघीय मन्त्रिपरिषद्ले यसअघि नै समझदारी पत्र (एमओयू) लाई अनुमोदन गरिसकेको छ। भारतका विदेशमन्त्री डा सुब्रह्मण्यम जयशंकरको दुईदिने भ्रमणका क्रममा आजबाट उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

यो सम्झौतापछि भारतका विभिन्न सरकारी तथा निजी संस्थाले नेपालसँग अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सम्झौतामार्फत विद्युत् व्यापार गर्नेछन् । नेपालका निजी क्षेत्रले पनि आवश्यक प्रक्रिया पूरा गरी विद्युत् आयात–निर्यातमा भाग लिन सक्नेछन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा दुवै देशका प्रधानमन्त्रीले विद्युत निर्यातको विषय ऐतिहासिक र महत्वपूर्ण भएको टिप्पणी गरेका थिए । सरकारले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने ऊर्जा विकास रणनीति तयार गरिसकेको छ ।

२८ हजार मेगावाट विद्युत्मध्ये १५ हजार मेगावाट विद्युत् भारतलगायत विभिन्न मुलुकमा निर्यात गर्ने लक्ष्य राखिएको छ ।

सम्झौतापछि नेपालको ऊर्जा क्षेत्रको विकासका लागि ढोका खुल्ने उल्लेख गर्दै निजी क्षेत्रले सम्झौताको स्वागत गरेको छ । सरकारले निजी क्षेत्रलाई साथमा लिएर ऊर्जा क्षेत्रको विकासमा गुणस्तरीय परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।

यसअघि ऊर्जामन्त्री बस्नेतसँग भारतीय ऊर्जा सचिव अग्रवालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको थियो ।

सो अवसरमा ऊर्जामन्त्री बस्नेतले दुई देशबीच ऊर्जा क्षेत्रमा सार्थक सहकार्यको थालनी भएकोमा खुशी व्यक्त गर्दै यसलाई थप टुङ्गोमा लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उनले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौताले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बताए ।