भारतका विदेशमन्त्री डा एस जयशंकर नेपालको दुईदिने भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री जयशंकरलाई परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरेकी थिइन् ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री बिहीबार यहाँ आएका हुन् ।

उनी नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी भएका थिए ।

भेटमा विकास साझेदारी लगायत द्विपक्षीय सहयोगका सबै पक्षको समीक्षा भएको थियो । त्यसैगरी, भेटवार्तापछि नेपालका परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्रीको उपस्थितिमा दुवै पक्षले विभिन्न महत्वपूर्ण सम्झौता र समझदारीपत्र आदानप्रदान गरेका छन् ।

भारतका विदेशमन्त्रीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत राजनीतिक दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।