कर्णालीमा चिया तथा कफी खेतीको सम्भाव्यताबारे प्रदेशस्तरीय छलफल भएको छ 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा ​​सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतको समन्वयमा शुक्रबार वीरेन्द्रनगरमा छलफल भएको हो ।

कार्यक्रममा बोल्दै कर्णालीका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीमा चिया र कफी खेतीको प्रचुर सम्भावना रहेको बताउँदै त्यसका लागि प्राविधिक जनशक्ति उपलब्ध गराउन बोर्डलाई आग्रह गर्नुभयो 

कर्णाली प्रदेशसभाका सदस्य विन्दमान विष्ट र घनश्याम भण्डारीले अन्य प्रदेशमा जस्तै कर्णालीमा पनि चिया तथा कफी खेतीको प्रवद्र्धन हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरे ।

सुर्खेतको बराहताल गाउँपालिका–३ का कफी कृषक मोहनकुमार आचार्य प्राविधिक ज्ञान नहुँदा कफी प्लान्ट हटाउनुपरेको र कटनी गरिएको कफी बिक्री गर्न नसकेको बताए ।

बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले कर्णालीमा चिया र कफीको प्रचुर सम्भावना रहेको बताउँदै त्यसलाई साकार पार्न सबै स्थानीय तहको नेतृत्वमा प्रदेश र सङ्घीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

चिया तथा कफी विकास बोर्ड कार्यालय प्युठानका प्रमुख सिपी बस्नेतले प्रदेशका सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला चिया तथा कफी खेतीका लागि उपयुक्त रहेको बताए ।

सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव तुलाराम सिञ्जालीले प्रदेशका चिया तथा कफी उत्पादक किसानको उत्पादन खेर जान नदिने गरी सहकारीले खरिद गर्दै आएको बताए ।