माघ १५ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार बाँडफाँडमा सत्तारुढ दलहरु शनिबार सहमत भएपनि उम्मेदवारी टुंगो लगाउन आइतबार फेरि बैठक बस्ने सहमति भएको छ ।

राष्ट्रियसभाका १९ रिक्त सिटमध्ये नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा (एकीकृत समाजवादी) दुई र जनता समाजवादी पार्टीले एकमा उम्मेदवारी दिने नेकपाका उपमहासचिव वर्षमान पुन अनन्तले बताए ।

यसअघि शनिबार दिउँसो बसेको सत्तारुढ दलको बैठकले राष्ट्रियसभाका १९ सिटमा उम्मेदवार बाँडफाँट गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भई सत्तारुढ दलहरुबीच सिट बाँडफाँडका विषयमा निष्कर्षमा पुग्ने सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग समन्वय गर्ने विषयमा पनि छलफल भएको नेता लेखकले जानकारी दिए ।

तर, नेकपा (एमाले)ले राष्ट्रियसभा निर्वाचनमा सबै रिक्त पदमा उम्मेदवारी दिने घोषणा गरेको छ । एमालेको घोषणापछि गठबन्धनका दलहरूबीच राष्ट्रियसभा निर्वाचनमा जाने सहमति भएको, गठबन्धनका दलहरूबीच सिट बाँडफाँड गर्ने सहमति भएको उनले बताए ।

‘राष्ट्रियसभामा विपक्षी दललाई फराकिलो लोकतान्त्रिक अभ्यासका रूपमा लैजाने विषयमा छलफल भए पनि तत्कालका लागि त्यो सम्भव नभएको’ उनले भने ।

यसैबीच, शनिबार साँझ बसेको बैठक सत्तारुढ दलबीच सिट बाँडफाँडको टुंगो नलागेर टुंगिएको छ । राष्ट्रियसभाको सिटमा सहमति जुटाउने प्रयासलाई निरन्तरता दिने निष्कर्षमा पार्टीका नेताहरुले निष्कर्ष निकालेका छन्,’ नेकपा (एकीकृत समाजवादी)का नेताले पत्रकारलाई वताए ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरुको सहभागिता रहेको थियो । राष्ट्रियसभाको निर्वाचन माघ २५ गते हुँदैछ ।