अलैंचीको मूल्य तीन गुणाले बढ्याे
२०८० पुष २३, सोमबार ०६:२४
यस सिजन अलैंचीको मूल्य तीन गुणाले बढेपछि किसानमा खुसी छाएको छ ।
अलैंची अहिले चार वर्षयताकै महँगो मूल्यमा बिक्री भइरहेको छ । गत वर्षको तुलनामा अलैंचीको मूल्य झण्डै तीन गुणाले बढेको व्यापारी जीवन पाण्डेले बताए । अघिल्लो वर्ष २८ हजार रुपैयाँ मूल्य थियो तर अहिले राम्रो गुणस्तरको अलैंची प्रति क्विन्टल ८५ हजारमा बिक्री भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मागअनुसार अलैंची नपुगेकाले यस वर्ष अलैंचीको मूल्य बढेको पाण्डेले बताए ।
सूर्योदय नगरपालिका–१ का वीरेन शेरेङले करिब एक सय रोपनी जमिनमा अलैंची खेती गरेका छन् । वार्षिक २७ देखि ३० मेट्रिक टन अलैंची उत्पादन गर्दा कम्तीमा १० लाख रुपैयाँ बचत हुने उनको भनाइ छ ।
आधुनिक खेती प्रणाली प्रयोग गरी अलैंचीमा सुधार आएपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् ।
यस वर्ष जिल्लामा एक हजार ३२५ मेट्रिक टन अलैंची उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा ७.९६ प्रतिशतले बढी हो । कृषि ज्ञान केन्द्र इलामका अनुसार १ हजार ७ सय ५३ हेक्टर जमिनमा अलैंची उत्पादन भएको छ ।
केन्द्रकी कर्मचारी रुना खड्काका अनुसार गत वर्ष १ हजार ७ सय ५५ हेक्टरमा अलैंची खेती भएकोमा १ हजार २ सय १५ दशमलव २६ मेट्रिक टन मात्रै अलैंची उत्पादन भएको थियो । अलैंचीको खेती घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व बढेको छ । उनले गत वर्ष प्रतिहेक्टर ०.६९ प्रतिशत उत्पादकत्व रहेकोमा चालु आवमा प्रति हेक्टर ०.७५ पुगेको बताए ।
इलामका ६ गाउँपालिका र चार नगरपालिकासहित १० वटै स्थानीय तहमा अलैंची उत्पादन हुने गरेको छ । तर, माइजोग्माई र सन्दकपुर गाउँपालिकामा यसको विस्तार बढी छ । अलैंची समुन्द्र सतहबाट ७०० देखि २१०० मिटरको उचाइमा उत्पादन गरिन्छ।




