कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबारको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले विष्टको उम्मेदवारीलाई अन्य कुनै पनि उम्मेदवारले चुनौती नदिएकाले उनी निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

तत्कालीन सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएपछि भदौ १ गतेदेखि उक्त पद रिक्त थियो ।

विष्टको उम्मेदवारीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा नेता भक्तिप्रसाद सिटौलाको प्रस्ताव र प्रेमराज थमसुहाङको समर्थन रहेको थियो । उनको उम्मेदवारीलाई समर्थन गर्दै अन्य कुनै पनि दलले उम्मेदवार दिएका छैनन् ।

७० वर्षीय विष्ट गत वर्ष भएको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

नवनिर्वाचित सभामुखले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।