आज माघे संक्रान्ति पर्व मनाइँदै छ आज माघे संक्रान्ति वा मकर संक्रान्ति देशभर मनाइँदैछ । नदी र पोखरीमा पवित्र नुहाउने, विभिन्न मन्दिरमा पूजा गर्ने, घिउ, तरुल, खिचडी जस्ता मिठासहरू र चाकु जस्ता मिठाईहरू र तिल र गुड़बाट बनेको मिठाईको स्वाद लिई यो मनाइन्छ।

ज्योतिष शास्त्रका अनुसार मकर संक्रान्तिको विशेष महत्व रहेको छ– यस दिनबाट सूर्यले आरोहण सुरु गरी उत्तरी गोलार्धमा प्रवेश गर्छ । यस दिन सूर्यको किरण मकर राशिबाट कर्कट राशितर्फ सर्छ। आजबाट दिन लामो र रात छोटो हुने जनविश्वास छ ।

धार्मिक ग्रन्थ ‘भविस्य पुराण’ र ‘धर्म सिन्धु’ अनुसार भक्तजनले विधिपूर्वक पर्व मनाएमा विशेष आशीर्वाद प्राप्त हुने र शरीर बलियो हुने उल्लेख छ । नेवार समुदायले दिवंगत आत्माको सम्झनामा घ्यू, चाकु लगाएर पर्व मनाउने गर्दछन् । यो पर्वलाई ‘घ्यो छकु सल्नहु’ भनिन्छ । ज्येष्ठ नागरिकले यस दिन कनिष्ठको टाउकोमा हल्का तातो खाने तेल लगाउँछन्। नेपालमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट र कन्काई तथा भारतको प्रयाग र गंगासागरमा पवित्र स्नान र श्राद्ध गर्न भक्तजनको भीड लाग्ने गर्दछ ।

आयुर्वेद र चिकित्सा विज्ञानका दृष्टिले पनि पर्वको महत्व छ । यस दिन खाने खानेकुराहरू सन्तुलित आहारका स्रोत हुन् जसले मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यस दिन भक्तपुरको टौमढी टोलस्थित तिलमाधव नारायण मन्दिरमा दीपकङ्कर बुद्धको पूजा–आराधना गरी मेला लाग्ने गर्दछ ।

थारु समुदाय र मगर समुदायले यो पर्वलाई माघीका रुपमा धेरै हर्षोल्लासका साथ मनाउने गर्दछन् । त्यसैगरी तराईका जिल्लामा भने यो दिनलाई नुहाउने पर्वका रुपमा मनाउने गरिन्छ ।सरकारले माघे संक्रान्ति/माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ ।