अर्थमन्त्री प्रकाशशरण महतले आगामी वैशाख २८–२९ मा काठमाडौंमा हुने तेस्रो लगानी सम्मेलनका सम्बन्धमा निजी क्षेत्रसँग ठोस याेजना पेस गर्न माग गरेका छन् ।

 लगानी शिखर सम्मेलनको संचालन समितिको शुक्रबारको दोस्रो बैठकमा अर्थमन्त्रीले कार्यक्रमलाई मध्यनजर गर्दै सम्भावित विदेशी लगानीकर्ता र आयोजनाको पहिचान गरी सजग रुपमा प्रस्तुतीकरण गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

उनले नीतिगत, कानुनी र प्रक्रियागत सुधार र आयोजना छनोटका लागि पहल गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए । उनले गैरआवासीय नेपाली समुदाय र स्वदेशी निजी क्षेत्रलगायत विदेशी लगानी आकर्षित गर्न शिखर सम्मेलनको प्राथमिकता रहेको बताए 

सरकारले निजी क्षेत्र र विकास साझेदारको समन्वयमा शिखर सम्मेलन आयोजना गर्न लागेको हो ।

बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्मेलनको तयारीका बारेमा जानकारी गराएका थिए ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिलगायत विभिन्न मन्त्रीहरुको सहभागिता रहेको थियो ।