प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सिङलगायत चिकित्सा शिक्षा क्षेत्रका समस्यालाई प्याकेजमार्फत सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । “नर्सिङ क्षेत्रको कुरा गर्दा नर्सिङ क्षेत्र र सीटीइभिटीको क्षेत्राधिकार द्वन्द्वको अवस्था छ। त्यसलाई हटाउन हामी अघि बढ्नुपर्छ,” उनले भनेका छन् 

उनले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या समाधानका लागि छिट्टै चिकित्सा शिक्षा आयोगको बैठक बोलाउने बताए ।

सरकार प्रमुखले भने, ‘चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रमा देखिएका समस्या पहिचान गर्न व्यापक छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ, आयोगको बैठक बोलाएर अध्ययन समिति गठन गरौँ ।

उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐनसँग सम्बन्धित विषयलाई संशोधन प्रक्रियामार्फत सम्बोधन गर्नुपर्ने धारणा राखे । ‘ऐनका प्रावधान कार्यान्वयनमा हामी पछि पर्नुहुँदैन । उपलब्ध स्रोतसाधनका आधारमा कार्यतालिका तयार गरी काममा लागौं ,’ उनले बैठकका सहभागीहरुलाई आग्रह गरे ।

बैठकमा उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई सहभागी थिए ।

त्यसैगरी बैठकमा मुख्य सचिव डा वैकुण्ठ अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र नेपाल नर्सिङ काउन्सिलका रजिष्ट्रार शुक्ला खनाललगायतको सहभागिता थियो ।