प्रधानमन्त्री कप क्रिकेटः मधेसले सुदूरपश्चिमलाई पराजित गरे
२०८० माघ ८, सोमबार २१:२९
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८० रनले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१९ रन बनाएको थियो । मधेशका लागि मायन यादवले १२८ बलमा ११५ रन बनाएका थिए ।
त्यस्तै पवन सर्राफले ६३ बलमा ७० रन बनाए भने अनिल शाहले ७० बलमा ६९ रनको योगदान दिए । रुपेश सिंहले २१ रन, अभिषेक तिवारीले १६ र हरिशङ्कर शाहले १४ रन बनाए ।
सुदूरपश्चिमका लागि शेर मल्लले ४ विकेट, विकास आगरीले २ तथा नारायण जोशी र गजेन्द्र बोहराले १/१ विकेट लिए ।
३२० रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४.५ ओभरमा २३९ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि नरेन भट्टले १२२ बलमा १२१ रन बनाए भने नारायण जोशीले २६ रन र किरण ठगुन्नाले २० रन बनाए
मधेसका लागि राजेश यादव र प्रदीप पासवानले तीन–तीन विकेट लिए भने रञ्जित कुमारले दुई तथा कप्तान हरिशङ्कर शाह र पवन सराफले एक–एक विकेट लिए
आजको जितसँगै मधेसले अहिलेसम्म ८ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । त्यस्तै सुदूरपश्चिम ६ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ ।




