उपत्यकाको तापक्रम २ दशमलव ५ डिग्री
२०८० माघ १३, शनिबार ११:१५
काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।हिउँदमा पानी परे पनि देशैभर चिसो बढेको छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्रीमा झरेर यो वर्ष अहिलेसम्मकै सबैभन्दा कम तापक्रम भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान ५ बजेतिर काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको र ८ बजेर ४५ मिनेटमा २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
दुई दिनअघि न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । जुम्लाको तापक्रम माइनस ५ दशमलव ३ डिग्री र मुस्ताङको जोमसोममा माइनस ५ दशमलव ५ डिग्री सेल्सियस रहेको अर्यालले जानकारी दिए ।
गण्डकी, कोशी र वाग्मती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही तराईमा बाक्लो कुहिरो रहेको वरिष्ठ मौसमविद्ले जानकारी दिए ।




